किसान को छोरो खेतिपाती गर्नु पर्ने म भौँतारिएर के–के गर्न पुगेछु ? कहिले राजनिती गरेँ ,कहिले नेता को चाकडी गरेँ, कहिले समाजसेवा गरें, कहिले ब्यापार गरेँ यति मात्र होइन आफु जन्मेको देशलाई निरन्तर माया गरिरहेँ । देशले म बाट पनि केहि आशा पक्कै पनि गरेहोला त्यो भन्दा बढी आशा देशबाट मैले गरेको थिएँ तर म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किनकि म अजै निदाएको रैछु ।
गल्ती त मैले त्यो बेला गरेछु जुन बेला देशलाई माया गरें ,नेपाल आमा को असली छोरो बन्न खोजेँ ,सबैले समुद्र पारी लखेट्न खोज्दा नेपाल आमा को काख रित्याउन चाहिन,मनमा थियो नेपाल आमाकै काखमा रमाउँछु , उसले जस्तै मैले जानिन त्यो लाखको बिटो लाई माया गर्न ,उस्ले जस्तै मैले जानिन देश छोडेर पराई हुन , उसले जस्तै मैले जानिन घर घडेरी जोड्न ,उस्ले जस्तै मैले जानिन चिल्लो गाडी मा हिँड्न ,किनकी म देशभक्ती नेपाल आमा को छोरो एक होनहार देशप्रेमी । म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किनकी म निदाएको रैछु ।
ठुलो आशा मनमा थियो संबिधान बन्छ, संबिधान बनेपछि देशले कोल्टो फेर्नेछ, यहाँ भ्रस्टाचार भन्ने कहीँ कतै हुँदैन, माओवादी शान्ति सम्झौता मा गैसक्यो अब हत्या हिँसा कतै हुँदैन, हिजो भ्रष्टाचार र बलात्कार गरेको आरोपमा माओवादी ले कति लाई यातना दिएको थियो अब यो पार्टी पनि सरकारको एक हिस्सा हुनेछ र भ्रष्टाचार ,बलात्कार निर्मुल पार्ने छ , युवा स्वरोजगारका कुरा आएका छन पक्कै युवाहरुले देशमै रोजगार पाउनेछन । नेपाल अब कमरेड प्रचण्डले भनेझैं स्विजरल्यान्ड बन्नेछ, किनकि म नेताको पछि÷पछि लागेर उनैको बोली मा बिश्वास गरेको मान्छे । फेरि म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
म सँगैको साथी ले बिदेशमा गएर करोडौं कमाइसक्यो ,म भने देशभक्ति भन्दा भन्दै लाखौं ऋणमा चुर्लुम्म डुबिसँके ,साथी ले पठाएको रेमिट्यान्सले नै आज नेता को भुँडी भरिएको छ ,उसले छुट्टि आंउदा नेतालाई एउटा घडी ल्याइदिएको रहेछ त्यसैले नेताज्यु पनि आज भोली उतै उ सँगै लिप्त भैरहेको देख्छु । उसैसँग डिस्को दोहोरी गएर मेरै कुरा काटेको देख्छु त्यसैले त आँफुले आँफैलाई धिक्कार्न मन लाग्छ किन कि म असल राजनिती गर्ने मान्छे , भुलमा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
एउटा पार्टीको झण्डा बोकेर अर्को पार्टीको झण्डा बोक्ने आफ्नै छिमेकी माथी जाइलाग्ने म त्यतिखेर मैले सोचिन त्यो पनि मेरो छिमेकी हो दुःख सार्हो पर्दा काम लाग्छ भनेर । उ सँग निरन्तर लडिराखें , कहाँ को हो कहाँ को नेता लाई माथी पुर्याउनको लागी आफ्नै छिमेकी लाई शत्रु बनाउने म, उसैसँग पानी बाराबार गर्ने म कहिल्यै उ प्रती राम्रो सोचिन,बाटो मा उ हंड्दा खेरी कालो बिरालोले बाटो काटेझैँ सम्झने म कस्तो अन्धभक्त थिएँ म त्यो नेता र पार्टी भनेर , आज त्यो नेता चुनाव जितेर सांसद भवन मा रमाउँदै गर्दा मलाई त उस्ले भुसुक्कौ बिर्सिएछ बाटो मा भेट्दा भन्दै छ तपाईं को घर कहाँ रे, थुइक्क ?यो सब नाटक हो भन्ने मलाई थाहा भएन त्यसैले त म फेरि भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
मेरो घर मुनि को ठुलो पाटाबाट मेट्रो रेल आउँनेछ ,त्यही मेट्रो रेल चढेर म बागलुङबाट बिहान बिरगंज गएर ब्यापार गरेर बेलुका आमा ले पकाएको आटो खान घर पुग्ने छु ,पहिला आकाश मा उडेर आउने मेरो दाई पनि पानी जहाज चडेर बिदेश बाट घर आउँछ , घर घर मा पाइपलाइन बाट ग्याँस बितरण हुन्छ , हजुरबा को सुरक्षा भत्ता अनि भाईको बेरोजगार भत्ता ले घर चल्छ ,दाइको कमाइ र मेरो कमाइ ले घर घडेरी जोडौँला , के थाहा मलाई यो सब चुनाव जित्न लाई गरिएको नाटक भनेर,त्यसैले त म भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
ए, बा, अब यसरी हुँदैन मलाई बिदा दिनुस । म पनि त्यो डोनाल्ड ट्रंप को देश मा जान्छु , त्यो लाखको बिटोमा अब हामी पनि रमाउनु पर्छ ,त्यो साथी ले जस्तै हामी पनि आरसिसी घरमा बस्नु पर्छ , यसी वाला गाडी अब हामीले पनि चढनु पर्छ , त्यो नेता लाई घडी अब हामीले पनि दिनु पर्छ ।
बा,मलाई पकेट खर्च नदिने तपाईंले म फलानो संघसंस्थाको अध्यक्ष बन्छु भन्दा खोजेर ल्याएको ऋण तिर्नु परेन र बा ? तपाईंले अहिले सम्म राजनीति गर्दा लागेको ऋण तिर्नुपरेन र बा ? मैले ब्यापार गर्दा लागेको रिण तिर्नु परेन र बा ? दाइ दिदि अनि मेरो बिबाह गर्दा लागेको ऋण तिर्न परेन र बा ? साथी ले जस्तै मैले पैसा कमाउन परेन र बा ?हो बा ? म पनि साथी जस्तै स्वार्थी बन्न जानिन । त्यसैले त म भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु ।
बा,म अब ब्युँझिएको छु, राजनीति गरेर मैले हाम्रा नेताज्युहरुलाई राम्रो सँग चिनेको छु आँफु माथी जानलाई कति सम्म गर्छन कति गिर्छन भनेर ,आफ्ना छोराछोरी लाई बिदेशका युनिभर्सिटीमा पढाएर हामीलाई यहाँ लडाएर आफुँ नेता बनेका छन । बा, मैले ब्यापार गरेर राम्रो सँग चिनेको छु आफन्तहरु ले हामीलाई कति साथ दिन्छन भनेर,यति सम्म गरेकी बा,अरु पसलमा सामान किन्ने अनि खाना खान म डेरा गरि बसेको कोठामा आउने हामीले उनको दुःख सुख मा सम्पुर्ण काम गर्दिनु पर्ने अनि हामीलाई उनीहरु सँधै प्रयोग मात्र गरिरहने हामी खुसी भएको उनीहरु देखी नसहने तर उनको खुसी मा सँधै हामी रमाउनु पर्ने ।
बा, मैले बुझिसँके यो देशमा कुनै शान्ति हुँदैन ,अजै पचास बर्ष सम्म पनि यो देश यस्तै हो , जब सम्म अन्तरास्ट्रिय राजनीति नेपालमा हाबी हुन्छ तेतिन्जेल सम्म देश को अवस्था नराम्रो सँग उथलपुथल हुन्छ । मलाई आशा अनि भरोसा छैन यहाँ कुनै हिटलर जन्मेला र देश बनाउला न आफुँ नै हिटलर बन्न सकेँ ।
बा,मलाई आशा छैन यो देश अव रबि लामिछाने र धुर्मुस सुन्तलीले बनाउने छन किनकि यो देश उनिहरुजस्ता महानब्यक्ति हरुको होइन , यो त गुण्डाराज गरेर सांसद बनेकाहरुको हो ,कालो धन जम्मा गरेर नेता पालेका हरुको हो, यो त लाखौं निर्मलाहरुलाई बलात्कार गर्ने बलात्कारिहरुको हो।लाखौं संगीन जिसि हरुलाई हत्या गर्ने हत्याराहरुको हो।
बा,हाम्रो सरकारलाई कुनै जिम्मेवारी छैन आफ्ना जनता कार्यकर्ता को , यहाँ सुरक्षा छैन दुःख गरि खाने कुनै नागरिक को ? हजारौं सुरक्षाकर्मीको घेरा भित्र बसेको राजपरिवार त सुरक्षित हुन सकेनन ,सुरक्षा छ त केबल उहि गुन्डाराज चलाउनेहरुको लाखौं निर्मलाहरुलाई बलात्कार गर्ने हरुको अनि कसरी जोगाउन सक्छु मेरी छोरी यहाँ का यौन पिपासुहरुबाट ।
यहाँ राष्ट्र सेवक बनेर असल र कर्तव्यनिष्ठा कर्मचारी बन्ने कसम खाएकाहरुबाटै लाखौं निर्मलाहरु बलात्कृत गर्ने अपराधी लुकाइन्छ ,बिमानस्थलमा बसेर तस्करीको धन्दा चलाइन्छ ,यिनीहरुबाट मैले के आश गर्नु,अब आत्म सुरक्षाको लागी बिदेशीनु बाहेक अरु कुनै विकल्प छैन ।
बा,यो सब बुझेर अब म यो देश छाड्ने बिचार गरेको छु ,अब म बिउँझिएको छु त्यसैले कुनै हिच्किचाहट नगरी मलाई आशिर्वाद संगै बिदा दिनुस म तल्लो बाटो हुँदै जान्छु त्यो सात समुन्द्र पारीको डोनाल्ड ट्रम्पको देश ।
भुवन कँडेल
हाल बागलुङ
हामीले यो जानकारी Tatopati बाट लिएका हौ ।
हाल बागलुङ
हामीले यो जानकारी Tatopati बाट लिएका हौ ।
No comments:
Post a Comment